बुटवलमा लाखे नाच-२०८२ सम्पन्न

lakheynach

बुटवलमा लियो क्लब अफ बुटवलद्वारा लाखे नाच-२०८२ सम्पन्न: स्थानीय संस्कृति र युवा नेतृत्वको संगम

बुटवल – बुटवलको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यस वर्षको लाखे नाच-२०८२ सम्पन्न भएको छ । हाटबजार युवा क्लब, लियो क्लब अफ बुटवल र बुटवल उपमहानगरपालिका वडा नं ५ को संयुक्त आयोजनामा भएको यो कार्यक्रमले स्थानीय कलाको संरक्षणसँगै युवा नेतृत्व विकासमा पनि जोड दिएको छ ।कार्यक्रम बुटवलको हाटबजारबाट सुरु भई लाखेको आकर्षक नृत्यसहितको झाँकीले नगरका मुख्य सडकहरू परिक्रमा गरेको थियो । लाखेको मनमोहक नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो भने अमरपथस्थित प्रहरी बिट अगाडि नृत्य प्रदर्शन गर्दै कार्यक्रम भव्यताका साथ समापन भएको थियो ।

आयोजक संस्थाहरूमध्ये लियो क्लब अफ बुटवलले युवा शक्तिलाई परिचालन गर्दै कार्यक्रमको व्यवस्थापन र स्वयंसेवक परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन क्लबका सदस्यहरूको सक्रियता सराहनीय रहेको थियो । यसले युवाहरूमा आफ्नो संस्कृतिप्रतिको जिम्मेवारीबोध बढाउनुका साथै नेतृत्व क्षमताको विकासमा पनि सहयोग पुगेको छ ।

लाखे नाचलाई सफल बनाउन स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो । युवादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकहरूको उत्साहजनक उपस्थिति थियो, जसले कार्यक्रमलाई थप जीवन्तता प्रदान गरेको थियो ।यस कार्यक्रमको सफल आयोजनाका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, सुरक्षाकर्मी र सहभागी दर्शकहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यस्ता कार्यक्रमहरूले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउने विश्वास आयोजकले लिएको छ ।

यस्तै, हाटबजार युवा क्लबले वर्षौंदेखि यस लाखे नाचको परम्परालाई निरन्तरता दिँदै आएको छ । क्लबका अध्यक्ष इसाक अलिले कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै भने, “हाम्रो यो लाखे नाच केवल मनोरञ्जनको लागि मात्र नभई हाम्रो मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटा महत्वपूर्ण माध्यम हो ।” उनले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।