40th Anniversary

anniversary

बुटवलमा लियो क्लबको ४० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बुटवल, श्रावण १९ (अगस्ट ४):पश्चिम नेपालकै पहिलो तथा बुटवलको सामाजिक सेवामा अग्रसर लियो क्लब अफ बुटवलले आफ्नो ४० औं वार्षिकोत्सव कार्यक्रम २०८२ श्रावण १९ गते (अगस्ट ४, २०२५) मा भव्यताका साथ सम्पन्न गरेको छ। यस अवसरमा क्लबले आफ्नो चार दशकको गौरवशाली यात्राको स्मरण गर्दै नयाँ पहलहरूको घोषणा र नेतृत्व हस्तान्तरण गरेको छ।कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ पी का पूर्व डिस्ट्रिक्ट गभर्नर तथा लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष अर्जुन मान सैंजुले समाज सेवामा लियो क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै युवाहरूलाई सामाजिक कार्यमा सक्रिय रहन प्रेरित गर्नुभयो।

अध्यक्ष सागर भुसालको प्रतिबद्धता


क्लबका ४१औं अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेका लियो सागर भुसालले आफ्नो मन्तव्यमा क्लबको ४० वर्षको अविस्मरणीय यात्रामा साथ, सहयोग र मार्गदर्शन दिनुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, लायन्स क्लब अफ बुटवल परिवार, लायनेस क्लब अफ बुटवल परिवार तथा सम्पूर्ण लियो सदस्यहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले विशेष गरी क्लबका चार्टर प्रेसिडेन्ट लायन महेन्द्र नारायण श्रेष्ठप्रति आभार व्यक्त गर्दै आफूलाई क्लबमा भित्र्याउने दाइ लियो हिमालय भुसाललाई पनि धन्यवाद दिनुभयो। अध्यक्ष भुसालले पूर्व अध्यक्षज्यूहरूले देखाउनुभएको बाटोमा हिँड्दै क्लबका गौरवशाली परम्परालाई निरन्तरता दिने र क्लबलाई अझ गतिशील तथा ऊर्जाशील बनाउँदै सामाजिक सेवाका नयाँ आयामहरूमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा युवा शक्तिलाई परिचालन गर्दै नयाँ र रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने तथा सामुदायिक हितका कार्यहरूलाई प्राथमिकता दिने वाचा गर्नुभयो। अन्तमा, “We Serve” अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने आदर्शलाई आत्मसात गर्दै सशक्त रूपमा सामाजिक सेवामा जुट्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

कार्यक्रमका मुख्य आकर्षणहरू र अतिथिहरूको उपस्थिति वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिहरूका रूपमा लियो क्लव अफ बुटवलका चार्टर प्रेसिडेन्ट, लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष, लायन्स डिस्ट्रिक्ट ३२५ बी का पूर्व डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन महेन्द्र नारायण श्रेष्ठ, लियो डिस्ट्रिक्ट ३२५ पी नेपालका प्रेसिडेन्ट लियो श्रीधर बस्याल, लियो डिस्ट्रिक्ट ३२५पी नेपालका उपाध्यक्ष लियो सुस्मा बस्याल, लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन प्रतीक पोखरेल, लायन्स क्लब अफ बुटवलका सल्लाहकार जीवन ओझा, लायन्स आँखा अस्पतालका कार्यवाहक अध्यक्ष लायन रामेश्वर श्रेष्ठ, लियो सल्लाहकार लायन शरद मान श्रेष्ठ, लायनेस क्लब अफ बुटवलका अध्यक्ष लायनेस लक्ष्मी श्रेष्ठ, लायनेस सल्लाहकार, लियो अल्फा सल्लाहकार, लियो डिस्ट्रिक्ट पदाधिकारीज्यूहरू, लियो एरिया १ का क्लब अध्यक्षज्यूहरू, लायन्स, लायनेस तथा लियो क्लबका विभिन्न पदमा रहनुभएका पदाधिकारीज्यूहरू र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

नयाँ पहल, सम्मान र शैक्षिक सहयोग यस कार्यक्रममा क्लबले आफ्नो नयाँ टी-शर्ट सार्वजनिक गरेको छ। हरेक वर्ष एकजना पूर्व अध्यक्षलाई विशेष सम्मान गर्ने परम्परा अनुसार यस वर्ष २०१४/१५ का अध्यक्ष लायन विजय वर्णवाललाई विशेष सम्मान गरियो। उहाँले सोही अवसरमा दुई जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी शैक्षिक क्षेत्रमा सहयोग पुर्याउनुभयो। साथै, दुई जना अन्य विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ का पूर्व अध्यक्ष, राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय, लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन प्रतीक पोखरेल, लियो डिस्ट्रिक्ट ३२५ पी नेपालका अध्यक्ष लियो श्रीधर बस्याल र लियो क्लब अफ बुटवलका संस्थापक अध्यक्षले मन्तव्य राख्नुभएको थियो। सदस्यहरूको बिदाइ र वेबसाइट उद्घाटन कार्यक्रममा उमेरको हकबन्दीका कारण क्लबको सदस्य पदबाट लियो महेश खनाल, लियो मनोज श्रेष्ठ, लियो अविनाश श्रेष्ठ, लियो हिमालय भुसाल र लियो रमेश न्यौपानेलाई बिदाइ गरिएको थियो। यसै विशेष अवसरमा लियो क्लब अफ बुटवलको आधिकारिक वेबसाइट www.leoclubofbutwal.com समेत औपचारिक रूपमा लन्च गरिएको छ। कार्यक्रमको संयोजन यसै क्लबका प्रथम उपाध्यक्ष लियो विमर्श ध्वज श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन सचिव लियो श्रीधर भण्डारीले गर्नुभएको थियो। यो कार्यक्रम बुटवलमा सामाजिक सेवामा युवाहरूको सक्रियता र समर्पणको एउटा महत्वपूर्ण उदाहरण बनेको छ, जसले आगामी दिनमा अझ सशक्त रूपमा समुदायमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

 खिचिएका तस्वीरहरू